site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा तीन हजार १५० किलो गाँजा बरामद, पक्राउ पर्दैनन् कारोबारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले करिब तीन हजार १५० किलो गाँजा बरामद गरेको छ । शनिबार राति १०५ वटा बोरामा प्याक गरेर लैजाँदै गर्दा तरकारी बोक्ने ट्रकबाट गाँजा बरामद भएको हो । 

कटहरी प्रहरी चौकीका वरिष्ठ सई भीम खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राति १२ बजेतिर को १ ख ४५१८ नम्बरको ट्रक रोकेर खानतलासी गर्दा १०५ बोरा गाँजा फेला पारेको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, ट्रकमा बन्दागोभीका बोराले छोपेर गाँजा राखिएको थियो । “भित्रि भागमा गाँजाका बोरा लुकाइएको थियो । शंका लागेपछि ट्रक नियन्त्रणमा लिइयो । गाँजा लुकाइएको ट्रक छाडेर चालक भने भागेका छन् । प्रहरी अहिले फरार चालकको खोजीमा छ,” उनले भनिन् ।

यसअघि धनलपान थानमा उखुबारीमा पनि गाँजा फेला परेको थियो । धनपालथानस्थित उखुबारीमा लुकाएर राखिएको ८०० केजी गाँजा बरामद भएको थियो । त्यसअघि ग्रामथान गाउँपालिका क्षेत्रमा पनि ठूलो परिमाणमा गाँजा भेटिएको थियो ।  

डीएसपी चुँडालका अनुसार, गाँजा कहाँबाट ल्याइएको र को कसले पठाएको भन्ने खुलेको छैन । तर, प्रारम्भिक अनुमानअनुसार पहाडी जिल्लाबाट भारततर्फ तस्करी गर्न ल्याइएको हुनसक्ने आशंका छ । गाँजा बरामद गरिए पनि कारोबारी पक्राउ पर्न भने नसकिएको उनले बताइन् । कोसी प्रदेशमा धनकुटा र उदयपुरमा अधिक गाँजा उत्पादन हुने गर्दछ । 

गाँजाको खेती र यसको प्रवर्द्धन हुनुपर्ने भन्दै प्रतिनिधिसभा तथा प्रदेशसभामा समेत सांसदहरूले माग गर्दै आएका छन् । कानुनसम्मत उत्पादन गरी निकासी गर्न नसक्दा गाँजाबाट राष्ट्रिय आम्दानी बढ्ने सांसदहरूको तर्क छ । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्