site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बिग्रेको गाडी

अमर अधिकारी


१.
राजनीति गर्छु भन्छ शुद्ध काम छैन उसको  
नाम फेर्दै हिँड्छ खास नाम छैन उसको
दुनियाँको सम्पत्ति हडप्ने मिटरब्याजी न हो 
सहरतिर पसेपछि भने गाम छैन उसको ।

२.
सावधान रहनुस् है बिग्रेको गाडी गुडाउनेदेखि
चनाखो हुनुस् है थोत्रो जहाज उडाउनेदेखि
सदासदा सतर्क हुनुस् है सबै सधैँ
अरूहरूको जिन्दगीको डोरी चुँडाउनेदेखि ।

३.
नपाउनेले केरा पायो बोक्रैसित खायो
खोलाबाट माछा ल्या’को कोक्रैसित खायो
देशमा चण्डालहरूको बिगबिगी छ र त
भ्रष्टाचारीले सरकारी बजेट धोक्रैसित खायो ।

४.
सबैलाई हिउँदमा घाम प्यारो हुन्छ
श्रमिकलाई दिनहुँ काम प्यारो हुन्छ 
धनी र गरिबमा फरक भएर नै त होला
धनीलाई जहिले पनि दाम प्यारो हुन्छ ।

(बूढानीलकण्ठ, काठमाडौं) 


 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्