विराटनगर । आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको मोरङ उद्योग व्यापार संघले स्वागत गरेको छ । संघका अध्यक्ष अनुपम राठीले शुक्रबार वक्तव्य जारी गर्दै मौद्रिक नीतिले मुलुकको आर्थिक स्थायित्व कायम गर्ने, कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने तथा वित्तीय प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
विगतमा संघले राखेका सुझाव तथा धारणामध्ये धेरैलाई नेपाल राष्ट्र बैंकले यस नीतिमा समेटेको भन्दै प्रशंसा गरेको छ । विशेषगरी सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याउनु, घरजग्गा कर्जामा मूल्यांकनको ८० प्रतिशतसम्म ऋण प्रवाह गर्नु र निजी आवासीय कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड बनाउनु जस्ता प्रावधानहरू सेयर बजार र रियल स्टेट क्षेत्रलाई उत्साहित गर्नेमा संघले विश्वास छ ।
त्यस्तै, साना तथा मझौला उद्योग–व्यवसायका लागि कर्जाको सीमा दुई करोडबाट तीन करोड कायम गर्नु, आधार दरमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गर्ने व्यवस्था गर्नु तथा कृषिजन्य फसल, जमिन र व्यवसाय धितोमा १० लाखसम्मको कर्जा दिने व्यवस्था कृषि र ग्रामीण अर्थतन्त्रलाई सवल दिने विश्वास व्यक्त गरिएको छ ।
लघुवित्त क्षेत्रमा पनि तीन प्रतिशतको प्रिमियम दर कायम गरी व्याजदर निर्धारण गरिएकोमा सकारात्मक प्रतिक्रिया दिएको संघले जनाएको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कृषि, साना तथा घरेलु उद्योगको प्रकृतिअनुसार परिमार्जन गरिनुका साथै कर्जा पुनर्संरचना तथा पुनर्तालिकिकरणका व्यवस्थाहरूले व्यावसायिक गतिविधिमा सहुलियत ल्याउने आशा संघले लिएको अध्यक्ष राठीले बताएका छन् ।
संघले समग्र मौद्रिक नीतिलाई सान्दर्भिक र समयअनुकूल ठहर गर्दै यस नीतिले चालु आर्थिक वर्षको बजेटमा उल्लिखित सहुलियतपूर्ण कर्जाका व्यवस्थालाई प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने र लक्षित ६ प्रतिशत आर्थिक वृद्धिमा टेवा पुर्याउने जनाएको छ ।