site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
रहेनन् पञ्चायत र बहुदल कालखण्डका मन्त्री बालाराम घर्तीमगर

काठमाडौं । पञ्चायतकालमा २७ वर्ष राष्ट्रिय पञ्चायत सदस्य र बहुदलीयकालमा दश वर्ष सांसद बनेका पूर्वमन्त्री बालाराम घर्तीमगरको ८८ वर्षको उमेरमा निधन भएको छ ।  उनी लामो समय जनप्रतिनिधि बन्ने सीमित राजनीतिक पात्रमध्ये पर्छन् । उनको गृह जिल्ला रोल्पा हो ।

उनी पञ्चायत र बहुदल दुवै कालखण्डमा मन्त्री भएका थिए । बहुदलपछि पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय थिए । उनको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस थियो । उनी २०१५ सालको संसदीय निर्वाचनमा कांग्रेसका उमेदवार खडानन्द सुवेदीलाई जिताउन लागिपरेका थिए । 

तर, २०१७ पुसमा दलविहीन पञ्चायती व्यवस्था आगमनसँगै कांग्रेस छिन्नभिन्न भयो । कांग्रेस सशस्त्र विद्रोहतिर लागिरहँदा उनी २०१८ सालमा पञ्चायती व्यवस्थाको प्रारम्भिक जग गाउँ पञ्चायतको चुनावमा वडा सदस्य बन्न पुगे । 

त्यसपछि गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै २०१९ सालमा जिल्ला पञ्चायत उपसभापति भए । त्यही वर्ष उनी राष्ट्रिय पञ्चायत बन्दै सिंहदरबार छिरेका थिए, जतिखेर उनी २४ वर्षका मात्र थिए । २०३२ मंसिरमा गठित डा. तुलसी गिरीको मन्त्रिपरिषद्मा निर्माण तथा यातायात राज्यमन्त्री भएका थिए । 

२०३६ सूर्यबहादुर थापा सरकारमा रक्षा मन्त्री भए । बलिग मताधिकार आधारमा पहिलो चोटि भएको राष्ट्रिय पञ्चायत चुनावमा सदस्य जितेपछि २०३८ मा गठित सूर्यबहादुर थापा सरकारमा रक्षा र उद्योग मन्त्री रहे । बहुदल आएलगत्तैको २०४८ को संसदीय चुनावमा पराजित भए । २०५१ मा रोल्पाबाट फेरि सांसद जितेपछि । 

२०५६ पछि राष्ट्रियसभामा सदस्य निर्वाचित भए । २०५२ असोजमा गठति शेरबहादुर देउवा सरकारमा मन्त्री भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्