काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनिस क्लब रियाल मड्रिडका खेलाडी आगामी वर्षसम्म नेपाल आउने आशा रहेको बताएका छन् ।
बिहीबार सातदोबाटोस्थित नेसनल हाई पर्फमेन्स सेन्टरको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमण जाँदा स्पेनिस क्लबसँग खेलाडीलाई नेपाल ल्याउने कुरा गरेको बताएका हुन् ।
“स्पेनमा संयुक्त राष्ट्रसंघबाट आयोजित एउटा कार्यक्रम थियो, त्यसमा गएको थिएँ । फाइनान्सिङ फर डेभलपमेन्ट भन्ने विषयमा मुख्य कार्यक्रमहरू थियो । र, अरू थुप्रै अन्य कार्यक्रम थिएँ,” ओलीले भने, “तर, त्यो मौकामा मैले एकछिन समय निकालेर रियाल मड्रिडको विश्वकै चर्चित स्टेडियम पनि हेरेँ ।”
ओली थपे, “मैले उहाँहरूलाई भनेको छु, तपाईंहरू नेपालमा भोलेन्टियरली आउनुपर्छ । पैसा हामी तिर्न सक्दैनौँ, एक–डेढ अर्बभन्दा धेरै तिर्नुपर्छ, जुन हामी सक्दैनौँ । सम्भवतः अर्को वर्ष अथवा आउँदो आर्थिक वर्षभित्र हामीले ल्याउन सक्छौँ कि भन्ने मलाई आश पनि लाग्छ ।”