गत शुक्रवार र शनिवार टेक्सासमा भएको भीषण वर्षा र बाढीले १०० जना भन्दा बढीको ज्यान लियो भने धेरै जना अझै बेपत्ता छन् । हामी बसोबास गर्ने जर्जटाउन र यस वरपरको क्षेत्रमा यो घटना भयो जुन सामान्यतया वर्षाको मौसम हो । तर, यो सामान्य वर्षा थिएन; जम्मा तीन घन्टाभित्रै दुई महिनामा पर्ने बराबरको पानी पर्यो ! केही दिनदेखि लगातार परेको पानीले जमिन पूरै भिजेको अवस्थामा भएको घनघोर वर्षाले बाढीको रूप लियो र नदीको सतह २५-३० फिटसम्म बढ्दा ठूलो धनजनको क्षति भयो ।
यो विनाशकारी घटनाले एउटा महत्त्वपूर्ण तर अपुष्ट प्रश्न जन्माएको छ : के यो 'क्लाउड सिडिङ' (क्लाउड सिडिङ) प्रविधिको कारणले भएको त होइन ? टेक्सासमा सानो स्तरमा क्लाउड सिडिङमार्फत वर्षा गराइने भएकाले, वर्षाको असामान्य तीव्रता र मात्राले यो शंका उत्पन्न गरेको हो । टेक्सासमा आएको विनाशकारी बाढीको दुई दिन नबित्दै अमेरिकी प्रतिनिधि सभाकी सदस्य मर्जोरी टेलर ग्रीनले क्लाउड सिडिङमाथि प्रतिबन्ध लगाउने कानुनको प्रस्ताव संसद्मा गरेपछि यसबारेको चर्चा झनै चुलिएको छ । ग्रीनले "मौसम परिवर्तन" (जस्तै क्लाउड सिडिङ) लाई आपराधिक कार्य घोषणा गर्ने विधेयक ल्याएकी छिन् । उनको प्रस्तावअनुसार यस्ता गतिविधिमा संलग्न हुनेलाई १ लाख अमेरिकी डलर जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुनेछ । यस विधेयकले मौसम नियन्त्रण र यसका सम्भावित असरबारेको बहसलाई नयाँ मोड दिएको छ ।
- के हो क्लाउड सिडिङ ?
क्लाउड सिडिङ भनेको बादलमा विशेष रसायन (जस्तै: सिल्भर आयोडाइड, सामान्य नुन वा सुक्खा बरफ) छर्केर कृत्रिम रूपमा वर्षा, हिउँ वा असिना पार्ने वैज्ञानिक प्रक्रिया हो । यसको उद्देश्य नयाँ वर्षा गराउनु होइन बरु प्राकृतिक रूपमा बनिरहेका बादलहरूलाई कृत्रिमरूपमा वर्षन बाध्य पार्नु हो ।
यस प्रक्रियाका लागि सबैभन्दा पहिले आकाशमा बादल हुनुपर्छ । त्यसपछि प्लेन, ड्रोन वा रकेटमार्फत रसायनहरू बादलमा छरिन्छन् । ती रसायनहरूले जलवाष्पसँग प्रतिक्रिया गरेर पानीका ससाना थोपाहरू बनाउन मद्दत गर्छन् र जब ती पर्याप्त गह्रौँ हुन्छन् तब वर्षाका रूपमा जमिनमा खस्छन् ।
विश्वव्यापी अभ्यास र स्थानीय चिन्ता
क्लाउड सिडिङ कुनै नयाँ वा अनौठो प्रविधि होइन । संयुक्त अरब इमिरेट्स (UAE), चीन र अमेरिकालगायत (टेक्सास, क्यालिफोर्निया र कोलोराडो सहित) का धेरै देशहरूले खडेरी नियन्त्रण गर्न, पानीका स्रोत बढाउन वा ओलम्पिक खेलजस्ता विशेष घटनाका लागि मौसम नियन्त्रण गर्न यो प्रविधिको प्रयोग गर्दै आएका छन् ।
यसका फाइदाहरू स्पष्ट छन्: यसले खडेरी कम गर्न, कृषि उत्पादन बढाउन, डढेलो नियन्त्रण गर्न र जल भण्डारहरू भर्न मद्दत गर्न सक्छ । तर, यसको प्रयोगमा विवाद र आलोचना पनि उत्तिकै छन् । वातावरणमा रसायन मिसिने चिन्ता, अप्राकृतिकरूपमा मौसम नियन्त्रण गर्नु नैतिक हो कि होइन भन्ने बहस, र कहिलेकाहीँ अत्यधिक वर्षा वा असिना पर्ने जोखिमजस्ता प्रश्न बारम्बार उठ्ने गरेका छन् ।
टेक्सासको बाढी : प्राकृतिक प्रकोप वा मानव हस्तक्षेप ?
सन् २०२४ को अप्रिलमा दुबईमा आएको विनाशकारी बाढीजस्तै हालैको टेक्सासको बाढीले पनि क्लाउड सिडिङको भूमिकाबारे प्रश्न उठाएको छ । दुवै घटनामा अत्यधिक, रेकर्ड तोड वर्षा भयो जसले पूर्वाधार र जल निकासी प्रणालीलाई ध्वस्त पारिदियो । फलस्वरूप, ठूलो जनधनको क्षति भयो ।
टेक्सासको बाढीमा क्लाउड सिडिङको सम्भावित भूमिकाबारे केहीले आशंका व्यक्त गरे पनि मौसमविद्हरूले यसलाई मुख्यतया 'प्राकृतिक तर चरम मौसमी घटना' मानेका छन् जुन तातो हावा र उच्च आर्द्रताले गर्दा तीव्र बनेको थियो । दुबईको सन्दर्भमा बाढी आउनुभन्दा केही दिनअघि क्लाउड सिडिङ गरिए पनि विज्ञहरूले प्राकृतिक र तीव्र मौसमी प्रणालीलाई नै मुख्य कारण मानेका छन् जुन सहरको अपर्याप्त जल निकासी प्रणालीले गर्दा झनै जटिल बनेको थियो ।
यी घटनाहरूले एउटा महत्त्वपूर्ण यथार्थलाई उजागर गरेका छन् : मानव हस्तक्षेप भए पनि नभए पनि आधुनिक सहरहरू र पूर्वसूचना प्रणालीहरू बढ्दो 'जलवायु परिवर्तन' प्रेरित चरम मौसमी घटनाहरूको सामना गर्न अक्सर तयार एवं सक्षम नहुने रहेछन् । टेक्सासको बाढी, दुबईको जस्तै एउटा गम्भीर चेतावनी हो - हामीसँग उन्नत प्रविधि हुँदाहुँदै पनि प्रकृतिको शक्ति अप्रत्याशित र विनाशकारी हुन सक्छ ।
मौसम परिवर्तनको नैतिक र राजनीतिक प्रश्न
क्लाउड सिडिङबारेको बहस यसको वैज्ञानिक प्रभावकारिताभन्दा बाहिर यसको नैतिक र राजनीतिक प्रभावसम्म फैलिएको छ । मानवलाई मौसम नियन्त्रण गर्ने अधिकार छ कि छैन? वातावरणमा रसायनहरू छर्दा दीर्घकालीन वातावरणीय असर के होला ? के एक क्षेत्रमा मौसम परिवर्तन गर्दा अर्को क्षेत्रमा 'पानीको राजनीति' र अन्तर्राष्ट्रिय विवाद निम्त्याउन सक्ने नकारात्मक असर पर्छ ? यो बहस राजनीतिक क्षेत्रमा पनि प्रवेश गरेको छ । ठूलो मात्रामा सरकारी नेतृत्वमा मौसम नियन्त्रण कार्यक्रमहरू नभए पनि, अमेरिकी सांसद प्रतिनिधि सभा सदस्य मार्जोरी टेलर ग्रीनले क्लाउड सिडिङ र अन्य मौसम परिवर्तनका कार्यहरूलाई दण्डित गर्ने विधेयक पेस गरेकी छन् भन्ने यसको उदाहरण हो ।
-सावधानीपूर्वक अगाडि बढ्ने आवश्यकता
'क्लाउड सिडिङ' जल संकट समाधान गर्न सक्ने एउटा शक्तिशाली प्रविधि हो र यसलाई सावधानीपूर्वक विचार एवं कडा वैज्ञानिक निगरानीमा मात्र प्रयोग गरिनुपर्छ । अनियन्त्रित वा राजनीति प्रेरित प्रयोगले दीर्घकालीन जोखिम निम्त्याउन सक्छ । क्लाउड सिडिङको नैतिकता यसको उद्देश्य, पारदर्शिता र मानवता तथा वातावरणमा यसको दीर्घकालीन प्रभावमा निर्भर गर्छ ।
टेक्सासमा हालैका घटनाहरूले हामीले आफ्नो मौसमलाई बुझ्न र सम्भव भए प्रभाव पार्न प्रयास गर्दागर्दै पनि, बढ्दो अप्रत्याशित र तीव्र मौसमी ढाँचाहरूको सामना गर्न तयारी र दिगो अभ्यासहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने हामीलाई स्मरण गराएका छन् । यस घटनाबाट पाठ सिक्दै के हामी जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न र भविष्यमा यस्ता विनाशबाट बच्न अझ गम्भीरताका साथ तयारी गर्नेछौँ ?
(अस्टिन टेक्सास, पूर्वपत्रकार, फोटोग्राफर)