site stats
बाह्रखरी :: Baahrakhari
देश
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चारजना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको आरोपमा साहलाई सोमबार नियन्त्रणमा लिएको जानकारी दिए ।

कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा यससम्बन्धी उजुरी दिएका थिए । त्यसपछि कीर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि वैशाख २५ मा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकामा त्यसयता साह फरार रहेका प्रहरी उपरीक्षक रेग्मीले बताए ।  

साहलाई आजै थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको प्रहरीले जनाएको छ । यसअघि कार्यकारी निर्देशकको हस्ताक्षर गरेर बृहत्तरका प्रशासकीय अधिकृत जीतेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेका थिए । रासस

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्