site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गर्भनरबीच छलफल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच छलफल भएको छ । सिंहदरबारस्थित आयोगमा उनीहरूबीच मौद्रिक र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी भएको हो  । 

आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठक आयोजना पूर्वसन्ध्या तथा नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा आयोगमा छलफल भएको हो । 

छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा.डा.  अधिकारीले विद्यमान कार्य पद्धति र आर्थिक मोडेलका बारेमा बहस गर्ने बेला आएको बताए ।

उनले सम्पन्न हुन २० देखि २५ वर्ष सम्म लाग्ने  कतिपय गौरवका आयोजनाहरूलाई दुई वर्ष भित्रै बनाउन सकिने धारणा राखे । विकास मोडललाई एकअर्कामा जोड्न समेत आवश्यक रहेको उल्लेख गरे ।

उपाध्यक्ष अधिकारीले प्रत्यक्ष आन्तरिक लगानीलाई कम प्रयोग गरिएको भन्दै अबका दिनमा यसलाई प्राथमिकता दिन समेत राष्ट्र बैंकलाई सुझाव दिए ।

छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले अनुत्पादक क्षेत्रमा लगानीभन्दा पनि दिगो आर्थिक वृद्धि हासिल गर्न सकिने उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्ने बताए ।

उनले राम्रो आर्थिक चलायमान गरिरहेको देश ग्रे लिष्टमा पर्नु दुर्भाग्य भएको भन्दै त्यसबाट बाहिर निस्कन राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट मेहनत गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्