site stats
बाह्रखरी :: Baahrakhari
देश
बिजमाण्डु र नेपाल खबरविरुद्धको मुद्दामा आज फैसला आउनसक्ने

काठमाडौं । बिजमाण्डु र नेपाल खबर डटकमविरुद्ध नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा आज फैसला आउने सम्भावना रहेको छ ।  

बुधबार ‘हेर्दाहेर्दै’मा परेको मुद्दामा आज फैसला आउनसक्ने बताइएको छ । 

यसअघि न्यायाधीश पिताम्बर शर्माको इजलासबाट अल्पकालीन अन्तरिम आदेशमार्फत समाचार हटाउने आदेश भएकोमा बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने निर्णयका लागि दुवै पक्षलाई डाकिएको थियो । 

बुधबार सुरुमा निवेदक पक्षका वकिलहरूले बहस गरेपछि बिजमाण्डु र नेपाल खबर पक्षका वकिलहरूले बहस गरेका थिए । बिजमाण्डुका लागि ‘लिडलयर’ वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ थिए भने नेपाल खबरका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल थिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रकाश मिश्र महासचिव केदार कोइराला, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराईसहितले पनि बहस गरेका छन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा भएको सुनवाइलाई अन्तिम सुनुवाइ बनाउने गरी अघि बढेको छ । वादीपक्षले लिखित जवाफ आफूले नपाएको भन्दै अन्तिम सुनुवाइ हुन नसक्ने दाबी लिएपछि लिखित जवाफ समेत दिएर पठाइएको छ । 

धितोपत्र बोर्डको कमिसन तथा चलखेलसम्बन्धी समाचारले आफ्नो मानहानि गरेको तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असर पुगेको भन्दै समाचार हटाउन माग दाबी लिएर श्रेष्ठले मुद्दा दायर गरेका थिए । 

उनको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले प्रतिवादी पक्षको भनाइ समेत नसुनी समाचार साइटबाटै हटाउने आदेश जारी गरेपछि अदालतको आदेशको सीमालाई लिएर सार्वजनिक बहस सुरु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्