site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनाको सहयोग लिएर चोभार गल्छीमा रहेको अवरोध हटाउन निर्देशन

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले काठमाडौंको चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको समितिको ३२औँ बैठकले नेपाली सेनाको सहयोग लिएर चोभार गल्छीमा रहेको अवरोध हटाउन निर्देशन दिने निर्णय गरेको हो ।

“नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ,” बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत वर्षको असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाको कारण वाग्मती नदीमा पानीको सतह बढ्न गई काठमाडौं उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायत भूभाग डुबानमा परेका थिए । डुबान चोभार गल्छी साँघुरिएर भएको निष्कर्ष निकाल्दै बैठकले गल्छीमा रहेको अवरोध हटाउन निर्देशन दिने निर्णय गरेको हो । 

बैकठले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरेको छ । कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्‌बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरी प्रभावित हुने आकलन गरिएको छ । ती घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन कार्ययोजनामा गरिएको छ ।

यस्तै, जल तथा मौसम विज्ञान विभागले पनि यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्